१२ असोज, काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ।
क्षतिका कारण करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
आज संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीका कारण विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरका १३ सहित विभिन्न नदी बेसिनमा रहेका कम्तीमा २७ जलविद्युत आयोजनामा क्षति पुगेको छ। ती आयोजनाबाट करिब एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित भएको मन्त्री श्रेष्ठले बताए।
क्षतिग्रस्त आयोजनामध्ये निलगिरी–१, निलगिरी–२, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्दी लगायत सात आयोजनाबाट उत्पादन हुने १९०।४ मेगावाट विद्युत पुनः सञ्चालनमा ल्याउन केही महिना लाग्न सक्ने प्रारम्भिक आकलन गरिएको छ।
त्यस्तै, कालीगण्डकी नदीको कटानका कारण राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डमा समेत क्षति पुगेको छ।
अन्य केही आयोजनाको विद्युत आपूर्ति भने मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
हाल म्याग्दी र बागलुङमा पर्वतबाट वैकल्पिक प्रसारण लाइन जोडेर विद्युत सेवा सञ्चालन गरिएको छ। मुस्ताङ र मनाङमा विद्युत सेवा पुनःस्थापित गर्न प्राविधिक टोली परिचालन गरिएको उनले बताए।
मन्त्री श्रेष्ठले विद्युत चुहावट नियन्त्रणसँगै अनावश्यक खपत घटाउन उपभोक्तालाई आग्रह गरेका छन्।
उनले पुरानो वितरण प्रणालीलाई सुधार गर्दै राष्ट्रिय प्रसारण लाइन सुदृढीकरणलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनका अनुसार विद्युतको माग विगतको तुलनामा उल्लेख्य रूपमा बढेकाले पूर्व–पश्चिम ऊर्जा आदानप्रदानलाई सहज बनाउन प्रसारण प्रणालीको क्षमता विस्तार आवश्यक छ।
मन्त्री श्रेष्ठले विद्युतीय सवारीसाधनको भन्सार दरलगायत नीतिगत विषयमा आर्थिक ऐनलाई आधार बनाएर पुनरावलोकन गर्न सकिने संकेतसमेत दिएका छन्।
































