१२ असाेज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ।
सम्भावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ।
हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि उनीहरूको यकिन संख्या भने अझै पुष्टि हुन सकेको छैन।
मनाङ प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन घटनाको विवरण संकलन गरिरहेको जनाएको छ।
यसैबीच, आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुवै शव काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित उद्धार टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।
































