११ असोज, काठमाडौं । देशका विभिन्न क्षेत्रमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानका घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बागमती प्रदेशमा ३, लुम्बिनीमा ४, गण्डकीमा ५, कर्णालीमा २ र मधेश प्रदेशमा १ जनाले ज्यान गुमाएका छन् ।
विपत्का घटनामा थप ४ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस अवधिमा बाढी, पहिरो र डुबानमा फसेका १ हजार २८४ जनाको उद्धार गरिएको छ ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने कार्य पनि जारी रहेको प्रवक्ता काफ्लेले बताए ।
सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा विपत् प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।































