११ असोज, काठमाडौं । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको सीमाभन्दा माथि पुगेपछि आसपासका बस्तीमा बाढी पस्न थालेको छ।
नारायणीको जलसतह १०.११ मिटर पुगेको छ, जबकि खतरा तह ९ मिटर हो। पानीको बहाव बढेसँगै भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रमा पानी पस्न थालेको छ।
यस्तै, बनकट्टास्थित रिउ खोलाको जलसतह पनि ४.६२ मिटर पुगेको छ, जुन खतराको तहभन्दा माथि हो।
जोखिम बढेपछि स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
































