१० असोज, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)हुँदै बग्ने नारायणी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीको सतह ८.९८ मिटर पुगेको हो। यहाँ ९ मिटर पुगेपछि खतराको तह मानिन्छ।
नदीको सतह निरन्तर बढिरहेको र शुक्रबार रातिदेखि नै चेतावनीको तह पार गरिसकेको अधिकारीहरूले बताएका छन्।
जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणी नारायणीको बाढीबाट जोखिममा रहेका क्षेत्र हुन्। यस्तै बौदीकाली र बुलिङटार कालीगण्डकीको बाढी तथा पहिरोको जोखिममा छन्।
बाढीको बहाव बढेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खुला गरिएको छ।
ब्यारेजमा पानीको बहाव करिब ३ लाख ४०० क्युसेक पुगेको बताइएको छ। नेपाल र भारततर्फ जाने दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको छ।
बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सुस्तालगायतका डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ ।































