Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुस्ताका सय घर डुबानमा, उद्धार जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । नवलपरासी सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्ताका अधिकांश घर डुबानमा परेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताए । ।

शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाले यहाँका १०० भन्दा बढी घर डुबानमा परेका उनको भनाइ छ । सुस्तामा २२० परिवार बसोबास गर्दै आएका छन् । सुस्ताका थारू टोलमा सबैभन्दा पहिले बाढी पसेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको छ ।

नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता-५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको नेपालले बताए ।

यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

अहिलेसम्म बाढीबाट डुबानमा परेका २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए । ।

बाढी पसेपछि पक्कीबाहेक कच्ची घर (खरपात तथा माटोले बनेका)मा क्षति बढी भएको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताए। नारायणी नदीमा यो वर्षकै सबैभन्दा ठूलो पानी आएको मापन गरिएको छ ।

गण्डक ब्यारेज वाल्मिकीनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ ।


प्रतिकृया दिनुहोस्