काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा खसेको पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन्।
पहिरो हटाइए पनि सडकको छेउको गेबियन वाल भत्किएकाले जोखिम भने कायमै रहेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार मुख्य सडकमा ठूलो क्षति वा धाँजा नदेखिएकाले तत्कालका लागि यातायात सञ्चालन गरिएको हो। तर लगातार वर्षा भइरहे थप पहिरो जाने वा सडक भासिन सक्ने सम्भावना रहेको छ।
यसैबीच, सडकखण्डका पानीधारा, धारापानी, जवां, जलविरे, रोराङलगायत अन्य ७ स्थानमा खसेको पहिरो हटाउन हेभी मेसिन परिचालन गरिएको छ।
वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको जनाइएको छ।
सबै स्थानको पहिरो हटेपछि मात्र सडकमा निर्बाध यातायात सञ्चालन हुने बताइएको छ। आयोजनाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।































