१० असाेज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन थालेपछि पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै शुक्रबार र शनिबार अत्यधिक वर्षाको सम्भावना रहेका २५ जिल्लामा यातायात सञ्चालन रोक्न आग्रह गरेको हो।
प्राधिकरणका अनुसार रातो संकेत गरिएका ती जिल्लाहरू कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा पर्छन्।
सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला र सुर्खेतमा यातायात सञ्चालन नगर्न भनिएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी, थप ३० जिल्लामा पनि धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
सुन्तला संकेत गरिएका ती जिल्लामा रातिको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसो सवारी चलाउने वा नचलाउने निर्णय भने स्थानीय अवस्थाको मूल्यांकन गरी जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले गर्नेछ।
बाँकी २२ जिल्लामा भने सामान्य वर्षाको सम्भावना रहेको जनाइएको छ। कोसी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुलीलाई यस समूहमा राखिएको छ। यी क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
































