६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिइएको आममाफी सर्वोच्च अदालतले सदर गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको आममाफीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफी सदर गर्ने फैसला गरेको हो। चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध २०८० जेठ १६ गते सर्वोच्चमा रिट दायर भएको थियो।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।
कडायतले चौधरीलाई क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु कानुनसम्मत नभएको जिकिर गरेकी थिइन्।
सर्वोच्चले भने उक्त रिट खारेज गर्दै चौधरीको आममाफीलाई सदर गरेको हो ।
































