Skip

Hamro Sanchar

एमाले बैठकमा आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने, मनोनयनको एजेन्डा पनि अघि बढाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो
बैठकको दोस्रो दिन आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने भएका छन्।

ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बिहान ९ बजे सुरु हुने बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई अधिकतम ३ मिनेट बोल्ने समय निर्धारण गरिएको छ।

उनीहरूले पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्नेछन्।

बैठकमा आज केन्द्रीय सदस्य मनोनयनसँगै विभिन्न विभाग गठन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका एजेन्डा अघि बढाउने तयारी छ।

त्यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा समेत निर्णय गर्ने तयारी रहेको छ।

एमाले स्रोतका अनुसार आज सदस्य मनोनयन र नेताहरूको धारणा राख्ने क्रम अघि बढाइनेछ भने पोलिटब्युरो, स्थायी कमिटीसहित नेताहरूको जिम्मेवारी बाँडफाँड भने भोलि गर्ने तयारी छ।

यसअघि बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।


प्रतिकृया दिनुहोस्