५ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्नेछ।
कोसी, मधेस, वाग्मती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने कर्णालीका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले बुधबारदेखि वर्षाको गतिविधि बढ्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
































