५ असोज, काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले आज शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
सहयोगका लागि मन्त्री पोखरेलले चीन सरकारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सधैँ साथमा रहने बताउँदै बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी रकम उपलब्ध गराइएको जानकारी दिए ।
































