५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो राजीनामा माग्ने नेतामाथी आक्रोश व्यक्त गरेका छन्।
आज बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलिले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गरि असन्तुष्टि व्यक्त गरेका हुन् ।
उपमहासचिव भट्टराईले केही दिनअघि अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ।’ओलीले योगेशको यो भनाइप्रति असन्तुष्टि जनाए।
‘हामीमाथिको भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो । तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए । समस्याको सिर्जना हुन थाले । पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो’, उनले आक्रोश पोखे, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश रु’
उनले पार्टीमा भएका नेताहरूले बाहिर गएर बोल्ने छुट नभएको बताए।
उनले थपे, ‘तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस् । तर बाहिर गएर जगँहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन । र यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।’
विरोधीलाई खेल्ने ठाउँ नदिनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। अनुशासनमा कमजोर भएको पार्टी एमाले बन्दा आफूलाई दुख लागेको बताए।
उनले पार्टीलाई अनुशासित, गतिशील र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउने बताए। महाधिवेशनको निर्णयलाई अस्वीकार गर्दै एउटा धक्कालाई लिएर गरेको अराजकता उपयुक्त नहुने चेतावनी दिए ।
































