काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुने भएको छ ।
आज मधेस प्रदेशका ८ जिल्लासहित , सुनसरी, बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मकवानपुर, मनाङ, मुस्ताङ, म्याग्दी, ओखलढंगालगायतका जिल्लामा आज अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको छ । ती वडाबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्व०, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा आज पनि वडा अधिवेशन जारी रहनेछ । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।
































