काठमाडौँ । नेपालले गत भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा दुवै देशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो ।
प्राधिकरणले द्विपक्षीय सम्झौता तथा विद्युत् बजार ९एक्सचेन्ज मार्केट० मार्फत विद्युत् बिक्री गरेको जनाएको छ । द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरी ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
त्यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य आयोजनाबाट बङ्गलादेशमा विद्युत् निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।































