२ असोज, काठमाडौं । नेपाली कांग्रेसको यही असोज १६-१९ मा हुने १५औँ महाधिवेशनमा सहभागी नहुने जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ।
सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसेका हुन्। चारै जिल्लामा कार्यवाहक सभापति तोकेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ। कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई कार्यवाहक जिम्मेवारी दिइएको छ।
मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई कार्यवाहक तोकिएको दुलालले बताए।
जिल्ला सभापतिले जिम्मेवारी खोसिएकोमा आपत्ति जनाएका छन्। मुगु कांग्रेसले महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेश निषेधको निर्णय गरेको छ।
सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक तोकेकोप्रति मुगु कांग्रेसले आपत्ति जनाएको छ। पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै उनलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरिएको मुगु कांग्रेसको माइन्युटमा उल्लेख छ।
यस्तै जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरे। बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन उनको आग्रह छ। दुलालका अनुसार रामेछाप, बारा, कैलालीलगायका जिल्लामा यसअघि नै सभापतिको जिम्मेवारी खोसिएको थियो ।

































