१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी थिए। सरकारका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्ले पनि बैठकमा उपस्थित थिए।
बैठकले हाल कायम रहेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने निर्णय गरेको छ।
संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्ने तथा विभिन्न दलका शीर्ष तथा महत्वपूर्ण नेतृत्वलाई सदस्यका रूपमा सहभागी गराउने निर्णय भएको छ।
त्यस्तै, भोटेकोशी विपद्बाट सिकाइ लिँदै भविष्यमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्न पहल गर्ने निर्णय भएको छ।
समितिले विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु कूटनीतिसहित दीर्घकालीन कार्यदिशामा सरकार र सरोकारवाला निकायबीच समन्वय गर्नेछ।
साथै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनको समीक्षा गरी आवश्यक नयाँ कानुन निर्माणका लागि संसद्मा पहल गर्ने जिम्मेवारीसमेत समितिलाई दिने निर्णय गरिएको छ।
यसका लागि सभामुख र संघीय संसद्समक्ष आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
































