२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा देउवा पक्षले गठन गरेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले आज केन्द्रीय प्रतिनिधि खटाएको हो।
जिल्लादेखि वडासम्मका विभिन्न ६ तहका अधिवेशनका लागि ३ असोजभित्र तयारी समिति गठन गर्ने गरी प्रतिनिधि परिचालन गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको उल्लेख गरिएको छ।


































