१९ भदौ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् ।
परराष्ट्र मन्त्रालय उच्च श्रोतका अनुसार प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि त्यसैअनुसारको तयारी भएको छ ।
यद्यपि प्रधानमन्त्री कहिले त्यसतर्फ जाने त्यसबारे केही खुलाइएको छैन ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा जाने तय भएको थियो ।
प्रधानमन्त्री बालेनले नेतृत्व गर्ने नेपाली टोलीमा परराष्ट्रमन्त्री खनाल पनि सहभागी हुने जनाइएको छ । तर सरकारको आधिकारिक निर्णय भने आइसकेको छैन ।
जलवायु परिवर्तनका कारण देशमा आएको विनाशकारी बाढीबारे प्रधानमन्त्री शाहले त्यहाँ आफ्नो धारणा राख्ने बुझिएको छ ।
यस्तो विपत्तिको बेला यूएनजस्तो सभालाई नेपालले प्रयोग गर्नुपर्ने दबाब आउन थालेपछि प्रधानमन्त्री शाह महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री बालेनको यो नै पहिलो विदेश भ्रमण हुनेछ ।
































