२३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो कार्यशैली बदल्दै चुनावी प्रतिबद्धता र जनमतको सम्मान गर्न सुझाव दिएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गर्दै आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, प्राप्त जनमतको साँचो सम्मान गर्न तथा संसदीय दललाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण रूपमा उत्तरदायी बन्नुपर्नेमा समेत जोड दिएका छन्।
आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै आवश्यक सुधार गरेर अघि बढे प्रधानमन्त्रीले आफूलाई कहिल्यै एक्लो महसुस गर्न नपर्ने पोखरेलको भनाइ छ।
तर, प्रधानमन्त्री अहिले जसरी अघि बढिरहेको भन्दै पोखरेलले त्यसले उनलाई एक्लो मात्र नभई ‘पूर्ण रूपमा असफल’ बनाउने चेतावनी दिएका छन्।
‘समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस्’ भन्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली र नेतृत्वशैलीमा सुधार ल्याउन आग्रह गरेका छन्।
पोखरेलको स्टाटसमा प्रधानमन्त्रीलाई जनमत, आफ्नै दल र संसद्प्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने सन्देश दिइएको छ।
बालेनले गएराति फेसबुकमा लेखेका थिए, “केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटी होइन ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिकाे जवाफ दिदै पोख्रेलले यस्तो लेखेका हुन्।































