काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
यससँगै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन अब औपचारिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्ने भएको छ प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको निवेदन सुनुवाइ योग्य रहेको ठहर गर्दै त्यसलाई अघि बढाउन आदेश दिएको हो ।
यसअघि सर्वोच्च अदालतले गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिने फैसला गरेको थियो ।
उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै देउवा र खड्काले छुट्टाछुट्टै पुनरावलोकन निवेदन दायर गरेका थिए ।सर्वोच्चले पुनरावलोकनका लागि आधार रहेको ठहर गरेपछि अब उक्त मुद्दामा विस्तृत सुनुवाइ हुनेछ । पुनरावलोकनको अन्तिम सुनुवाइपछि यसअघिको फैसला यथावत् रहने वा संशोधन हुने भन्ने विषय टुंगो लाग्नेछ ।































