
१९ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।
सुनसरी र मधेशका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट सेनाप्रति लक्षित गर्दै उनले आफ्नो धारणा राखे । ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना । यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो रु यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ,’ उनले भने ।
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे । ‘के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ जस्तो लाग्छ र? यो अभिव्यक्ति तुरुन्तै सच्याइनुपर्छ,’ राईले भने ।






























