
१८ साउन, काठमाडौं । पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
विस्फोट आइतबार साँझ अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक भएको थियो ।
स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए ।
स्वातका डेपुटी इन्स्पेक्टर जनरल अफ पुलिस फिदा हुसेनका अनुसार आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
उक्त क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारले प्रभावकारी कारबाही गर्नुपर्ने मागसहित नजिकैको चोकमा सयौँ मानिस भेला भएका थिए । सभाको अन्तिम वक्ताले सम्बोधन गरिरहेका बेला विस्फोट भएपछि भागदौड मच्चिएको थियो ।
स्वातमा हिंसात्मक आक्रमणहरू पुनः बढ्न थालेपछि त्यसको विरोधमा प्रदर्शनकारीहरू भेला भएका थिए । सन् २००९ मा पाकिस्तानी सेनाले ठूलो सैन्य अभियान सञ्चालन गरी नियन्त्रणमा लिनुअघि यो उपत्यका पाकिस्तानी तालिबान अर्थात् तेहरिक–ए–तालिबान पाकिस्तानको मुख्य अखडा मानिन्थ्यो ।
घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले बम विस्फोटको कडा भर्त्सना गर्दै धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।





























