Skip

Hamro Sanchar

राति साढे ११ बजे मृतक गणेश यादवको घर पुगे गृहमन्त्री गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


१६ साउन, काठमाडौं । करिब १२ घण्टाको प्रतीक्षापछि गृहमन्त्री सुदन गुरुङ मृतक गणेश यादवको घर पुगेका छन्।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा १० साउनमा भएको घटनापछि सुरु भएको आन्दोलनले सुनसरी, सिरहासहित मधेशका विभिन्न जिल्लामा प्रभाव पारेको छ ।

उक्त घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन हिंसात्मक बन्दै तोडफोड, आगजनी र गोली चल्ने अवस्थासम्म पुगेको थियो ।

सोही क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिका– २, तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

गृहमन्त्रीसँगै सिरहा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता, क्षेत्र नं.२ का सांसद शिवचन्द्र यादव ९शिव० तथा क्षेत्र नं. ४ का समानुपातिक सांसद पुरुषोत्तम यादव पनि मृतकको घर पुगेका छन् ।

गृहमन्त्री गुरुङ र सिरहाका सांसदहरूले मृतकका परिवारजन तथा स्थानीयसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिने र उनीहरूको गुनासो सुन्ने काम गरिरहेका छन्।

दिउँसो २ बजे पुग्ने कार्यक्रम रहे पनि गृहमन्त्री गुरुङ राति करिब ११:३५ बजे कडा सुरक्षा व्यवस्थाकाबीच मृतकको घर पुगेका हुन् ।

 


प्रतिकृया दिनुहोस्