
१५ साउन, काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँग हालै भएका सहमति र समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्ताका क्रममा मधेश क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिएका छन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले विगतका सरकारहरूले जस्तो सहमति गरेर पछि बेवास्ता गर्ने अवस्था आउन नहुने भन्दै यसपटक भएका सम्झौताप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।
‘सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौँ,’ महतोले भने ।
मधेशमा फैलिएको तनाव रोक्न राज्य गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्नेमा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।
‘जुन आगो मधेशमा फैलिएको छ, त्यसलाई रोक्नुपर्यो । राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिँदैन,’ महतोले भने, ‘हामी सबै सहयोग गर्न तयार छौँ । सबै पक्षको सहयोग लिएर त्यो दंगा रोक्नुपर्यो भनेका छौँ । त्यसका लागि पहल गर्नुपर्यो।’
प्रधानमन्त्री शाहले ढिलो भए पनि राष्ट्रका नाममा सम्बोधन गरेकोमा आफूहरूले धन्यवाद दिएको महतोले बताए । यद्यपि, सम्बोधन केही समयअघि नै भएको भए पछिल्लो अवस्था फरक हुन सक्ने आफूहरूले प्रधानमन्त्रीलाई बताएको उनले जानकारी दिए ।
मधेशको अवस्था सामान्य बनाउन सरकार, राजनीतिक दल र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको भन्दै उनले समस्या समाधानका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताए ।






























