
१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र त्यसपछि सिरहालगायतका क्षेत्रमा उत्पन्न हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।
बिहीबार एक अपिल जारी गर्दै ओलीले सुनसरीमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
साथै, अन्य नागरिक घाइते भएको घटनाप्रति पनि पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले हिंसात्मक घटना रोकिनुको सट्टा थप उग्र बन्दै सिरहालगायत विभिन्न स्थानमा पनि गोली चल्दा थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
ओलीले नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल भएको उल्लेख गर्दै समाजमा विभाजन ल्याउने उद्देश्यका भ्रामक प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
उनले एमालेका नेता–कार्यकर्ता, अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।
सरकारको भूमिकाप्रति टिप्पणी गर्दै ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु तथा संवादमार्फत समस्या समाधान गर्नु सरकारको प्राथमिक दायित्व भए पनि राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए ।
उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
ओलीले वर्तमान विषम परिस्थितिमा मुख्य राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले द्वन्द्व र हिंसाले समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताएका छन् ।





























