Skip

Hamro Sanchar

सुनसरी घटनाबारे रास्वपा : राजनीतिकरण नगरौं, निष्पक्ष छानबिन होस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


१२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीमा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनालाई राजनीतिक रंग नदिन सबै पक्षसँग आग्रह गरेको छ।

सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ ।

पार्टीले साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन, उत्तेजना र अफवाहको पछि नलाग्न तथा शान्ति कायम गर्न आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई अपिल गरेको छ ।

विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउन, नागरिकको जिउधनको रक्षा गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन संवादमार्फत समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने जनाएको छ ।

पार्टीले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग विशेष आग्रह गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।

 


प्रतिकृया दिनुहोस्