Skip

Hamro Sanchar

गगन थापाको टिप्पणी : प्रधानमन्त्री बालेनलाई कालो कर्तुत गर्न छुट छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


७ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गरेका छन्।

थापाले सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राख्न खोजेको आरोप लगाए।

प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्‌मा पनि उठाइरहेका छौँ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छाया बनाउन खोजेको भन्दै प्रश्न गरे ।

सञ्चार माध्यममा आएका प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने समाचारहरूबारे टिप्पणी गर्दै थापाले चुनौती दिएका छन् ।

सभापति थापाले अघिल्लो शेरबहादुर देउवा समूहका नेताहरूले आफूमाथि गरेको आलोचना र गालीगलौजप्रति लक्षित गर्दै व्यङ्ग्य समेत गरेका थिए ।

हिजो बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ । त्यो सुन्नुभन्दा नसुन्नु नै उपयुक्त हुन्छ भन्ने ठानेर मैले बेवास्ता गरिदिएँ,’ उनले भने।

थापाले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर राष्ट्रिय शक्ति भएको दाबी गरे । उनले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए।


प्रतिकृया दिनुहोस्