Skip

Hamro Sanchar

फुटको संघारमा कांग्रेस : संस्थापन इतर समूहले साउन ६ मा छुट्टै कार्यक्रम गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३ गते


३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (पूर्णबहादुर खड्का समूह)पक्षले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम आयोजना गर्ने भएको छ ।

इतर समूहले आज पत्रकार सम्मेलनमार्फत बीपी स्मृति दिवस मनाउन लागिएको जानकारी गराएको हो ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्ने र सोही कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा गरिने नेता मीन विश्वकर्माले जानकारी दिए ।

सहमतिका प्रयास क्षीण बन्दै गएकोले राष्ट्रिय भेला बोलाउने तयारी गरिएको उनले बताए । सोही भेलामार्फत महाधिवेशनको मिति तोक्ने रणनीतिमा इतर पक्ष रहेको नेताहरूले बताएका छन् ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोजमा १५ औं महाधिवेशनको मिति घोषणा गरेर कार्यक्रम शुरू गरिसक्दा इतर पक्ष भने आयोजक समिति गठनको अडानमा कायम छ।

साउन ६ गतेको कार्यक्रम सफल बनाउन नेता प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

इतर समूहले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर आफ्ना गतिविधि गरिरहेको छ।


प्रतिकृया दिनुहोस्