Skip

Hamro Sanchar

२४ घण्टा पनि टिकेन ट्रम्पको वचन, होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३१ गते


३१ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत कार्गो शुल्क लगाउने आफ्नो विवादास्पद प्रस्ताव फिर्ता लिएका छन्।

यसको सट्टा उनले खाडी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गर्ने नयाँ रणनीति अघि सारेका छन्।

ट्रम्पले मध्यपूर्वका नेताहरूसँगको सकारात्मक वार्ता पश्चात् यो निर्णय लिएको जनाउँदै यी सम्झौताहरूबाट अमेरिकामा ठूलो परिमाणमा लगानी भित्रिने र लाखौँ रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत यस लगानीले अमेरिकामा नयाँ कारखाना र उद्योगहरू स्थापना गर्न मद्दत पुग्ने बताएका छन्।

यसअघि सोमबार मात्रै ट्रम्पले उक्त रणनीतिक समुद्री मार्गको सुरक्षा अमेरिकाले गरिरहेको भन्दै त्यसको लागत स्वरूप सबै कार्गोमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए।

उनको उक्त प्रस्तावलाई लिएर इरानले कडा आपत्ति जनाउँदै अमेरिकी भूमिकालाई अस्वीकार गरेको थियो।

यद्यपि, शुल्कको प्रस्ताव फिर्ता लिए पनि ट्रम्पले इरानमाथिको दबाब कायमै राख्ने स्पष्ट पारेका छन्।

उनले इरानी जहाज र कार्गोमाथिको पूर्ण प्रतिबन्ध यथावत् रहने तथा इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीतिमा कुनै परिवर्तन नआउने दोहोर्‍याएका छन्।

ट्रम्पले स्ट्रेट अफ होर्मुजको सुरक्षामा अमेरिकी सेनाको भूमिकालाई विशेष महत्त्व दिँदै तेल आपूर्ति सहज बनाउन आफू प्रतिबद्ध रहेको दाबी गरेका छन्।

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच ट्रम्पले कार्गो शुल्कको विवादित प्रस्ताव त्यागेर व्यापारिक रणनीतिमा केन्द्रित हुनुलाई रणनीतिक परिवर्तनको रूपमा हेरिएको छ।


प्रतिकृया दिनुहोस्