
१७ असमर, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोरमा मंगलबार एक ट्युसन सेन्टरको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। पाँच जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार तथा राहत अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानका क्रममा २० जना बालबालिकालाई सकुशल बाहिर निकालिएको थियो ।
बीबीसी उर्दूका अनुसार, कमिश्नर मरियम खानले दुर्घटना हुँदा भवनभित्र करिब ३५ जना बालबालिका रहेको जानकारी दिएकी छन् । घाइतेमध्ये एक जना शिक्षक पनि रहेका छन् ।
यता, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले घटनाबारे प्रहरीसँग विस्तृत अनुसन्धान प्रतिवेदन मागेकी छन् । हालसम्म प्रहरीले घरधनीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
डीआईजी अपरेसन्स फैसल कमरानका अनुसार घटनाको कारण पत्ता लगाउन र दोषीहरूको पहिचान गर्न यस प्रकरणसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू संकलन गरिँदै छ । उनले भने, ‘यस घटनामा कानुनी प्रक्रिया पूरा गरिनेछ र दोषी ठहरिएका व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गरिनेछ ।




























