
७ असार, काठमाडौं । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ ।
लेबनानमा इजरायलले जारी राखेको सैन्य आक्रमणको विरोधमा इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको हो । यससँगै मध्यपूर्वमा नयाँ भू–राजनीतिक तनाव थप चुलिएको छ ।
इरानको संयुक्त सैन्य कमान्डले शनिबार जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा भइरहेको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत बन्द गरिने जनाइएको छ ।
इरानको सरकारी टेलिभिजनमार्फत प्रसारित ‘खाताम–अल अम्बिया सेन्ट्रल हेडक्वार्टर’को आधिकारिक बयानमा भनिएको छ, “होर्मुज जलमार्गमा सबै प्रकारका जहाजहरूको आवतजावत बन्द गरिएको घोषणा गरिन्छ ।”
इरानले यस कदमलाई अमेरिकासँग भएको सम्झौताको उल्लंघनविरुद्ध चालिएको पहिलो कदमका रूपमा चित्रण गरेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “यदि यो आक्रामकता जारी रहिरहे शत्रुलाई आफ्नो प्रतिबद्धता पूरा गर्न बाध्य पार्न थप कदमहरू योजनाबद्ध रूपमा चालिनेछन् ।”
यसै हप्ताको सुरुआतमा अमेरिका र इरानबीच अन्तरिम सम्झौतामा हस्ताक्षर भएपछि होर्मुजबाट मालवाहक जहाजहरूको आवतजावत पुनः सुरु भएको थियो । तर, इरानको नयाँ घोषणाले उक्त कूटनीतिक प्रयासलाई पुनः अनिश्चिततामा धकेलेको बताइएको छ ।
अमेरिकी सेना उच्च सतर्कतामा
इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको केही समयपछि अमेरिकी सेनाले आफू यस रणनीतिक जलमार्गमा उपस्थित र उच्च सतर्क रहेको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानसँग भएको सम्झौताका सबै पक्षहरूले पूर्ण रूपमा पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न तथा सम्झौता प्रभावकारी रूपमा लागु भएको अवस्थाको निगरानी गर्न अमेरिकी सेना यस क्षेत्रमा उपस्थित रहँदै उच्च सतर्कताका साथ आफ्नो गतिविधि जारी राखेको छ ।”





























