
४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको बताए। आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको सुनाए।
अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म केही कुरा सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताए। विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गरे।
‘निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ। एक बालिकाको शवमाथि जुन प्रकारको राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि हामीले सुक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ,’ गृहमन्त्री गुरुङले भने।
उनले दोषीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सबैको सहयोगको अपेक्षा समेत गरेका छन् ।






























