Skip

Hamro Sanchar

बेइजिङ पुगे परराष्ट्रमन्त्री शिशिर खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समयअनुसार आज त्यहाँ पुगेका हुन् । बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दै छ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् ।

साथै, उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री खनाल आगामी ३ असारमा स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्