
३० जेठ, विराटनगर । असन्तुष्टि जनाउँदै आएको नेपाली कांग्रेसको संस्थापन इतर पक्षले नेतृत्वमाथि दबाब बढाउने रणनीति लिएको देखिन्छ । जस अनुसार भोलि विराटनगरमा बृहत् प्रादेशिक भेला गर्ने भएको छ ।
पार्टीभित्र दबाब सिर्जना गर्ने र १४ औँ महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।
आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै इतर समूहले भोलि बिहान ११ बजे हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनेछन् ।
भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए ।
सोही अवसरमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।






























