
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदैछ । प्रदेशस्तरीय अधिवेशनको सुरुआत बागमती प्रदेशबाट हुन लागेको हो ।
अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभापति पदका लागि हालका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने पुनः सोही पदमा दोहोरिन चाहेका छन् । लामिछाने हाल नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
त्यसैगरी, प्रदेश उपसभापति पदमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । उनी लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । साथै, उनी जोरपाटीस्थित शंखरापुर अस्पतालका सञ्चालक पनि हुन् ।
महामन्त्री पदमा हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः आकांक्षी देखिएका छन् । हालका सभापति लामिछानेले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशका ३१ वटा निर्वाचन क्षेत्रमा रास्वपालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । समितिमा सभापति, उपसभापति र महामन्त्री एक/एक जना रहने प्रावधान छ ।
त्यस्तै, दुई जना सहमहामन्त्री रहने तथा उनीहरू फरक-फरक लिङ्गका हुनुपर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रक्रियाअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ । प्रदेश सदस्यमा निर्वाचित भएकामध्येबाट थप पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।






























