Skip

Hamro Sanchar

इरानले परमाणु हतियार नबनाउने ग्यारेन्टी दिएको छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


१८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने ग्यारेन्टी दिएको दाबी गरेका छन् ।

उनले इरानसँगको सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।

फक्स न्यूजमा प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई जुन ग्यारेन्टी जे भए पनि चाहिन्छ, त्यो भनेको परमाणु हतियार नहुने प्रतिबद्धता हो । उनीहरू यसमा सहमत भएका छन् ।’

 

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई थप कडा सर्तसहित नयाँ शान्ति प्रस्ताव पठाएको छ । प्रस्तावमा के–कस्ता विषय समावेश छन् भन्ने सार्वजनिक गरिएको छैन ।

ट्रम्पले सम्भावित सम्झौताका लागि इरानलाई परमाणु हतियार विकासबाट रोक्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

तर इरानले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले आफ्नो परमाणु कार्यक्रमबारे ठोस वार्ता अघि बढाउनुअघि विदेशमा रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको छ ।

इरानले ट्रम्पले यसअघि गरेको ‘संवर्धित युरेनियम नष्ट गरिएको’ भन्ने दाबीलाई पनि आधारहीन भनेको छ । साथै, कुनै पनि युद्धविराम वा शान्ति सम्झौतामा लेबनानलाई समेत समावेश गर्नुपर्ने उसको अडान रहेको बताइएको छ । इजरायलले लेबनानमा इरान समर्थित समूह हिजबुल्लाविरुद्ध लक्षित हवाई आक्रमण गरिरहेको दाबी गर्दै आएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि ट्रम्पको भनाइसँग मिल्दोजुल्दो अभिव्यक्ति दिएका छन् । सिंगापुरमा आयोजित सांग्रिला डायलगमा उनले आवश्यक परे अमेरिका पुनस् सैन्य कारबाही गर्न पूर्णरूपमा सक्षम रहेको बताएका थिए ।

गत अप्रिलमा पाकिस्तानको मध्यस्थतामा तेहरान र वाशिङ्टनबीच अस्थायी युद्धविराम भएको थियो । त्यसयता दैनिकजसो भइरहेका आक्रमण रोकिए पनि छिटपुट सशस्त्र घटनाहरू जारी रहेको बताइएको छ ।

विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा युद्धपछि आएको अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । यसले अमेरिकासहित विश्व अर्थतन्त्रमा दबाब बढाएको छ । विश्लेषकहरूका अनुसार यही कारण ट्रम्प प्रशासनमाथि इरानसँग कुनै न कुनै समझदारीमा पुग्नुपर्ने दबाब बढिरहेको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्भावित सम्झौताअन्तर्गत होर्मुज मार्ग खुला भएपछि इरानले त्यहाँबाट गुड्ने जहाजबाट कुनै शुल्क नलिने बताएका थिए । तर इरानी समाचार एजेन्सी फार्सले सम्झौताको मस्यौदामा यस्तो कुनै प्रावधान नरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्