
२४ बैशाख, काठमाडौं । पश्चिम बंगालमा भारतीय जनता पार्टीका नेता तथा भावि मुख्यमन्त्रीको रूपमा हेरिएका शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ ।
यो घटना कोलकातानजिकैको मध्यमग्राममा भएको हो । आक्रमणपछि उनलाई अस्पताल लैजाँदै गरेको भिडियोहरू सार्वजनिक भएका छन् ।
राज्यका डीजीपी सिद्धनाथ गुप्ताका अनुसार हत्याको अनुसन्धान सुरु भइसकेको छ । अपराधमा प्रयोग गरिएको गाडी जफत गरिएको भए पनि त्यसमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली रहेको पाइएको छ ।
घटनास्थलबाट जीवित कारतूसहरू फेला परेका छन् । प्रत्यक्षदर्शीको बयान र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
बीजेपी नेता शुभेन्दु अधिकारीले यसलाई ‘योजनाबद्ध हत्या’ भन्दै विगत १५ वर्षदेखिको तृणमूल कांग्रेस ९टीएमसी०को ‘महाजंगलराज’को परिणाम भएको बताएका छन् ।
उनले घटनाअघि २–३ दिनसम्म ‘रेकी’ गरिएको दाबी गरेका छन् । केन्द्रीय मन्त्री सुकान्त मजुमदारले मृतकका परिवार र प्रहरीसँग कुराकानी गरेका छन् ।
तृणमूल कांग्रेस (टीएमसले यस हत्याको निन्दा गरेको छ । साथै, निर्वाचनपछिको हिंसामा बीजेपी कार्यकर्ताको हातबाट आफ्ना तीनजना कार्यकर्ता मारिएको दाबी गर्दै त्यसको पनि विरोध गरेको छ । टीएमसीले अदालतको निगरानीमा सीबीआई जाँचको माग गर्दै दोषीलाई कडा कारबाही गर्न आग्रह गरेको छ ।
पश्चिम बंगालको निर्वाचन परिणामपछि राज्यका विभिन्न स्थानमा हिंसा र तोडफोडका खबरहरू आइरहेका छन्, जसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । बीबीसी













