
१६ बैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईले करिब ६० वर्षपछि प्रमुख तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक र ओपेक प्लस बाट बाहिरिने घोषणा गरेको छ।
यूएईका अनुसार, यो निर्णय आफ्नो दीर्घकालीन रणनीति, आर्थिक दृष्टिकोण (इकोनोमिक भिजन) र बदलिँदो ऊर्जा प्रोफाइलु लाई प्रतिबिम्बित गर्नका लागि लिइएको हो।
यूएईका ऊर्जा मन्त्रीले यी समूहहरूको बाध्यताबाट मुक्त हुँदा देशले तेल उत्पादन र व्यापारमा थप लचकता पाउने बताएका छन् । यूएई सन् १९६७ मा ओपेकको सदस्य बनेको थियो। यूएईको बहिर्गमनपछि अब यो समूहमा मात्र ११ सदस्य राष्ट्र बाँकी रहनेछन्।
यूएईको यो निर्णयले ओपेकका लागि ठूलो झट्का हुने देखिएको छ । एमएसटी फाइनान्सियलका ऊर्जा अनुसन्धान प्रमुख सॉल क्यावोनिकले यसलाई ओपेकको अन्त्यको सुरुवातु को रूपमा टिप्पणी गरेका छन् । क्यावोनिकका अनुसार, यूएई बाहिरिएसँगै ओपेकले आफ्नो करिब १५ प्रतिशत क्षमता गुमाउनेछ र एक अनुशासित सदस्य पनि गुमाउनेछ।
ओपेकको पछिल्लो तथ्यांक अनुसार, यूएईले वार्षिक २९ लाख ब्यारेल तेल उत्पादन गर्दछ। तुलनात्मक रूपमा, ओपेकको सबैभन्दा ठूलो उत्पादक साउदी अरबले वार्षिक ९० लाख ब्यारेल तेल उत्पादन गर्छ।
यूएईको यो कदमले विश्वव्यापी तेल बजार र खाडी क्षेत्रको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।













