
२४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् ।
बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो ।
आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् ।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।
कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।













