
काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा छलफल कार्यक्रम शुक्रबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भएको छ । फ्रेन्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको यो कार्यक्रममा चार जना वक्ता सहभागी भएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शोभित उप्रेती, डा धर्म उप्रेती, डा सन्जयनाथ खनाल, संविधानसभा सदस्य तथा पुराना पत्रकार विनोद पहाडी र डा चन्द्रमणि अधिकारीले पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार विषयमा आफ्नो धारणा राखेका थिए । पूर्व रक्षा सचिव देवेन्द्र सिटौला र संविधानसभा सदस्य कमला विश्वकर्मासमेत कार्यक्रमको आकर्षण रहेका थिए ।
“पर्यावरणीय सभ्यतामाथि “सि जिनपिङको विचार” विषयमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समग्र रूपमा वातावरण संरक्षण र दिगो विकासबीच सन्तुलन कायम गर्नु आजको अपरिहार्य आवश्यकता भएकोमा जोड दिएका छन् ।
वक्ताहरूले सि जिनपिङले अघि सारेको “पर्यावरणीय सभ्यता” अवधारणा केवल सैद्धान्तिक नभई व्यवहारिक र समयसापेक्ष रहेको उल्लेख गर्दै आर्थिक विकाससँगै प्रकृतिको संरक्षणलाई समान प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनीहरूको भनाइमा जलवायु परिवर्तनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै नेपालजस्तो संवेदनशील मुलुकले हरित नीति, दिगो स्रोत व्यवस्थापन र वातावरणमैत्री विकास मोडेल अपनाउन ढिलाइ गर्न नहुनेमा जोड दिइयो ।
त्यस्तै, वातावरण संरक्षण केवल सरकारको दायित्व मात्र नभई नागरिक, निजी क्षेत्र र सञ्चारमाध्यम सबैको साझा जिम्मेवारी भएको उनीहरूले उल्लेख गरे । जनचेतना अभिवृद्धि, नीति सुधार र स्थानीय तहसम्म सहभागितामूलक कार्यक्रम विस्तार गर्न आवश्यक रहेकोमा पनि वक्ताहरू एकमत देखिए ।
समग्रमा, वक्ताहरूले “पर्यावरणीय सभ्यता” को अवधारणाले नेपालमा दिगो विकासको मार्गचित्र निर्माण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । साथै, यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले वातावरणीय मुद्दामा बहस, सहकार्य र सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
यो संस्थाले पर्यवरण, वातावरणका विषयमा निरन्तर अन्तरकृयाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।














