
काठमाडौं । अमेरिका(इजरायलसँगको युद्ध अन्त्यका लागि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्त राखेका छन्।रुस र पाकिस्तानका नेताहरूसँगको कुराकानीमा उनले मध्यपूर्व क्षेत्रमा शान्ति स्थापनाका लागि इरान प्रतिबद्ध रहेको दाबी गरे।
सामाजिक सञ्जाल एक्समा इरानका राष्ट्रपति पेजेस्कियानले लेखेका छन्, ‘इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।’
इरान, अमेरिका र इजरायलबिच जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा अशान्ति उच्च रहेका बेला पेजेस्कियानको उक्त अभिव्यक्ति आएको हो। मंगलबार मात्र इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी र इजरायली अड्डाहरूलाई निसाना बनाइएको बताएको थियो।
अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोनरक्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका(इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।














