Skip

Hamro Sanchar

सुर्खेतमा १६ वर्षीया किशोरीको हत्या प्रकरण: बलात्कारपछि हत्या आशंका, चार नाबालक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा वीरेन्द्रनगरका चार किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेका छन्।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा विक फागुन २३ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनी बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन नजिकै बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए।

इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। घटनाको दिन बिहान ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी उनी नियमित समयमा घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। केही समयपछि अपरिचित नम्बरबाट शहीद पार्क नजिकैको जंगलमा छोरी बेहोस अवस्थामा रहेको जानकारी आएको परिवारले जनाएको छ।

घटनास्थलमा पुग्दा इनिसा गम्भीर अवस्थामा रहेको र शरीरभरि चोटपटक देखिएको परिवारको दाबी छ। परिवारका अनुसार उनको शरीरमा निलडाम, कपाल लुछिएको तथा चुरा फुटेको अवस्था देखिएको थियो, जसका आधारमा सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

मृतकका परिवारले कर्तव्य ज्यान तथा जबरजस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएका छन्। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट हुने प्रहरीको भनाइ छ।


प्रतिकृया दिनुहोस्