Skip

Hamro Sanchar

काठमाडौंमा वायु प्रदूषण: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हावामा हानिकारक कणहरूको मात्रा बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रमा हावामा रहेको सूक्ष्म कण पर्टिकुलेट म्याटर ९एः द्द।छ० को मात्रा निकै बढेको जानकारी दिए। श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।

मन्त्रालयका अनुसार वायु प्रदूषणका कारण आँखा दुख्ने, आँखा पाक्ने र दृष्टिमा समस्या आउने जस्ता सामान्य लक्षणदेखि मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी रोग तथा क्यान्सरसम्मको जोखिम बढ्न सक्छ।

प्रदूषणको असरबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूले थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

बिहान–साँझ बाहिर ननिस्कन सुझाव
मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। उक्त समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको हो।

यदि बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्क लगाउन, आँखाको सुरक्षा लागि चस्मा प्रयोग गर्न तथा छालालाई प्रदूषणबाट जोगाउन शरीर पूरै छोपिने कपडा र टोपी लगाउन मन्त्रालयले सल्लाह दिएको छ।

प्रदूषण नियन्त्रणका लागि अन्य मन्त्रालयसँग छलफल
वायु प्रदूषण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयसँग निरन्तर समन्वय र छलफल गरिरहेको जनाएको छ।

सवारीसाधनबाट निस्कने धुवाँ, कलकारखाना, कृषिमा प्रयोग हुने विषादी, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो जस्ता कारणहरू नियन्त्रण नगरेसम्म प्रदूषणको समस्या समाधान नहुने मन्त्रालयको भनाइ छ।

तत्कालका लागि भने नागरिकहरूले प्रदूषणबाट आफ्नो स्वास्थ्य जोगाउन सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्