
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पद छाडेको घोषणा गरेका छन्।
पार्टीका संस्थापक जिल्ला सभापति शाहीले सोमबार पार्टीको सभापति पदबाट राजीनामा दिएका हुन्।
शाही रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत थिए। सामाजिक सञ्जालमार्फत उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट पार्टीलाई विजय दिलाउन नसकिएको स्वीकार गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताएका छन्।
उनले लेखेका छन्, ‘यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै आजकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिको पदबाट राजीनामा प्रदेश सभापति समक्ष पेश गरेको छु।’
उम्मेदवार शाहीले जम्मा ४ हजार ७६ मत मात्रै प्राप्त गरेका छन्। उनको जमानत समेत जफत भएको छ ।













