तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको राजधानी तेहरानमा भइरहेको सैन्य आक्रमणलाई आगामी दिनमा अझ तीव्र पार्ने घोषणा गरेका छन्।
आइतबार रक्षा मन्त्री, सेना प्रमुख र गुप्तचर निकाय मोसादका प्रमुखसँगको बैठकपछि उनले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन निर्देशन समेत दिए ।
तेल अभिभस्थित सैन्य मुख्यालयको छतबाट बोल्दै नेतान्याहुले भने, ‘हाम्रा सेनाले अहिले तेहरानको मुटुमा प्रहार गरिरहेका छन् र आगामी दिनमा यो आक्रमणको शक्ति अझ बढ्नेछ।
उनले इजरायलले पछिल्ला दिनमा भोग्नुपरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे। उनले तेल अभिभ र बेत शेमेशमा आफ्ना नागरिक मारिएको उल्लेख गर्दै ती दिनहरू पीडादायी रहेको बताए। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।
इजरायलको अस्तित्व र भविष्य सुनिश्चित गर्नका लागि इजरायली सेनाको सम्पूर्ण शक्ति परिचालन गरिएको दाबी उनले गरे।













