
काठमाडौं । क्युबाको जलक्षेत्रमा प्रवेश गरेको एउटा संदिग्ध डुंगामा तटीय सुरक्षामा खटिएको सेनाले गोली चलाएको छ।
बुधबार क्युबाको उत्तरी तट नजिक, काये फाल्कोनेस क्षेत्रभन्दा करिब १.६ किलोमिटर उत्तर–पूर्वमा प्रवेश गरेको एउटा स्पिडबोटमाथि तटरक्षकहरू गोली चलाएको हो।
घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको अन्तर्राष्ट्रय समाचार संस्था एशोशिएटेड प्रेस (एपी)ले जनाएको छ।
क्युबाली सरकारले उक्त डुंगा अमेरिकाको फ्लोरिडाबाट आएको र क्युबाली जलक्षेत्रमा प्रवेश गरी तटरक्षकहरूमाथि गोली चलाएको बताएको छ।
सरकारका अनुसार १० जना सवार उक्त डुंगा क्युबाली जलक्षेत्रमा प्रवेश गरेपछि सैनिकमाथि पहिले गोली प्रहार गरिएको थियो।
त्यसपछि भएको जवाफी कारबाहीमा चार जनाको मृत्यु र ६ जना घाइते भएको बताइएको छ।
तटीय सुरक्षामा खटिएका एक क्युबाली सुरक्षाकर्मी पनि घाइते भएको एपीले जनाएको छ।
क्युबाले डुंगामा सवार सबैजना अमेरिकामा बसोबास गर्ने क्युबाली नागरिक रहेको र उनीहरू टापुमा प्रवेश गरी आतंकवादी गतिविधि सुरु गर्ने उद्देश्यमा रहेको दाबी गरेको छ।
क्युबाको आन्तरिक मन्त्रालयले डुंगामा सवार अधिकांश व्यक्तिहरूको आपराधिक तथा हिंसात्मक गतिविधिसँग सम्बन्धित विगत रहेको जनाएको छ।
यात्रुहरूमध्ये अमिजाइल सान्चेज गोन्जालेज र लेओर्डान एनरिक क्रुज गोमेजलाई क्युबाली अधिकारीले आतंकवादसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा खोजी सूचीमा राखेको उल्लेख छ।
घटनामा पक्राउ परेका डुनिएल हर्नान्डेज सान्तोषले सशस्त्र घुसपैठ गर्न अमेरिकाबाट पठाएको भनेर बयान दिएको समेत क्युबाले बताएको छ।
मृतकमध्ये एकको नाम मिचेल ओर्टेगा कासानोभा रहेको बताइएको छ। अन्य केहीको पहिचान खुलाइएको भए पनि तीन जनाको पहिचान अझै सार्वजनिक गरिएको छैन।
घटनाबारे अनुसन्धान जारी रहेको मन्त्रालयको भनाइ छ।
यस घटनाबारे अमेरिकाले गम्भीर ढंगले बुझिरहेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले घटनाबारे जानकारी प्राप्त भएको र अमेरिकी पक्षले आफ्नै तर्फबाट तथ्य संकलन गरिरहेको बताएका छन्।
उनले घटनामा संलग्न व्यक्तिहरू अमेरिकी नागरिक वा स्थायी बासिन्दा हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न खोजिरहेको बताए। खुला समुद्रमा यस्ता गोली हानाहानका घटना अत्यन्त असामान्य भएको पनि उनले बताएका छन्।
घटनाबारे गृह मन्त्रालय र कोस्ट गार्डले अनुसन्धान गरिरहेको उनले बताएका छन्।
उपराष्ट्रपति जेडी भान्सले पनि ह्वाइट हाउसले घटनालाई नजिकबाट नियालिरहेको बताएका छन्।
यस घटनाले पछिल्लो समय चिसिँदै आएको अमेरिका–क्युबा सम्बन्धमा थप तनाव बढाउने आशंका गरिएको छ।
खुला समुद्रमा क्युबाली तटरक्षक र अमेरिकी झण्डा बोकेका स्पिडबोटबीच झडप हुने घटना विगतमा पनि देखिए पनि यात्रुले सैनिकमाथि गोली चलाएर मृत्यु हुने घटना भने पछिल्लो समय दुर्लभ मानिएको छ ।













