Skip

Hamro Sanchar

ट्रम्पले ग्रीनल्यान्डमा पठाए ‘विशाल अस्पताल जहाज’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रीनल्यान्डमा एउटा अस्पताल जहाज पठाउन लागिएको शनिबार बताएका छन् ।

उनले उक्त टापुका धेरै बिरामी मानिसको उपचार सोही जहाजमार्फत गरिने जानकारी दिए ।

ट्रम्पले यसबाट कसलाई संकेत गरेका वा कति मानिसलाई मद्दत गरिने भन्ने बारेमा थप खुलाएका छैनन् । “हामी ग्रीनल्यान्डमा त्यहाँका धेरै बिरामी र हेरचाह नपाएका मानिसको सेवा गर्नका निम्ति एउटा विशाल अस्पताल जहाज पठाउँदै छौँ,” उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “यो बाटोमा छ ।”

उक्त पोस्टमा उनले आफूले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीसँग मिलेर अस्पताल जहाज पठाउने काम गरिरहेको बताएका छन् । गएको डिसेम्बरमा उनले ल्यान्ड्रीलाई ग्रीनल्यान्डका निम्ति आफ्नो दूतका रूपमा नियुक्त गरेका थिए ।

ल्ःद्य द्यबलप
उक्त जहाजको माग डेनमार्क वा ग्रीनल्यान्डले गरेरनगरेको र कुन बिरामीलाई सहयोग चाहिएको भन्ने स्पष्ट भएको छैन । ट्रम्पको यो पोस्ट डेनमार्कको ‘जोइन्ट आर्कटिक कमान्ड’ले तत्काल चिकित्सा उपचार आवश्यक परेका एक अमेरिकी पनडुब्बी चालक दलका सदस्यलाई उद्धार गरेको जनाएपछिको हो ।

उक्त पनडुब्बी ग्रीनल्यान्डको जलक्षेत्रमा राजधानी नुकबाट सात नटिकल माइलबाहिर थियो । ट्रम्पको पोस्ट उक्त उद्धार कार्यसँग सम्बन्धित होरहोइन भन्ने स्पष्ट छैन ।

ग्रीनल्यान्ड विश्वको सबैभन्दा ठूलो टापु, खनिजले भरिपूर्ण र रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्र हो । यो स्वशासित भए पनि डेनमार्ककै हिस्साका रूपमा छ ।

यो टापु अमेरिकी राष्ट्रिय सुरक्षाका निम्ति महत्त्वपूर्ण रहेको र आफूले यसलाई प्राप्त गर्न चाहेको ट्रम्पले बताउँदै आएका छन् । उनले आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्ने धम्की समेत दिएका थिए ।

यसै हप्ताको सुरुमा डेनमार्कका राजा फ्रेडरिक दशौँले ग्रीनल्यान्डको भ्रमण गरेका थिए । विशाल टापुको नियन्त्रण हत्याउने ट्रम्पको प्रयासबीच एक वर्षमा यो उनको दोस्रो भ्रमण थियो ।


प्रतिकृया दिनुहोस्