Skip

Hamro Sanchar

कान्तिपुर एकेडेमीद्धारा इन्जेनियम एक्स्पोको आयोजना, ६८ विद्यालयको सहभागिता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५, थलीमा रहेको कान्तिपुर एकेडेमीले एकदिने इन्जेनियम एक्स्पोको आयोजना गरेको छ।

यो एक्स्पो स्थानीय विद्यार्थीहरूको वैज्ञानिक, प्राविधिक र रचनात्मक परियोजनाहरूलाई प्रर्दशन गर्ने उद्देश्यले गरिएको हो।  जसमा छिमेकी नगरपालिका तथा क्षेत्रमा रहेका ६८ विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा र नवीन सोचलाई प्रोत्साहन दिएको बताए।

कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख कार्कीले कान्तिपुर एकेडेमीलाई यस क्षेत्रकै अब्बल शैक्षिक संस्थाका रूपमा विकसित गर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाले एकेडेमीको गुणस्तर तथा पूर्वाधारमा आवश्यक सहयोग र लगानी जारी राख्ने, र कुनै पनि आर्थिक अभावले विद्यार्थी र शिक्षकलाई प्रभावित नगर्ने गरी सहकार्य गरिने बताए। साथै उनले आधुनिक शिक्षा, सूचना–प्रविधि (आईटी) तथा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेर अगाडी बढाउने निर्णय गरेको जानकारी दिए।

नगरपालिकाले विगतमा पनि आईटी तालिम तथा डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्कीले विद्यार्थीहरूलाई भविष्यमा डिजिटल/आईटी–आधारित उद्यमशीलता, रोबोटिक्स तथा नवीनता प्रवर्द्धनका लागि प्रोत्साहित गरेको उल्लेख गर्दै, भविष्यका पेशागत मागअनुसारका सीपहरू सिक्ने अवसरहरू सिर्जना गरिने बताए। यसले विद्यार्थीहरूलाई वातावरणीय, वैज्ञानिक र प्राविधिक क्षेत्रमा अझ आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने विश्वास नगर प्रमुखले व्यक्त गरे।

एक्स्पोमा ८६ वटा विद्यालयलाई निमन्त्रणा गरिएको थियो। एक्स्पोमा ३० वटा स्टल राखिएका थिए। जसमा १६ वटा स्टल प्रतियोगिताका लागि राखिएका थिए भने ११ वटा स्टल कान्तिपुर एकेडेमीले प्रदर्शनका लागि राखेको थियो।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, दोश्रो र तेस्रो हुनेलाई क्रमसः १५ हजार, १० हजार र शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।

एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूले पनि कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आफ्नो सिर्जनात्मकता र अनुसन्धान–आधारित परियोजनाहरू प्रस्तुत गरेका थिए।

इन्जेनियम जस्तो कार्यक्रमहरूले विद्यार्थीहरूलाई समस्या–समाधान, टीमवर्क, अनुसन्धान तथा प्रायोगिक कौशल हासिल गर्न सहयोग प्राप्त हुने आयोजक तथा सहभागीहरु संस्थाहरूले जोड दिएका थिए।

एकेडेमी ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर-५ का अध्यक्ष शंकर पाण्डेको अध्यक्षता सम्पन्न एक्स्पोमा संबिधानसभा सदस्य दिपक कुइँकेल, एकेडेमीका अध्यक्ष संस्थापक तथा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कबिर शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, कान्तिपुर क्याम्पसका प्रमुख शैलेन्द्र कुइँकेललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।


प्रतिकृया दिनुहोस्