
काठमाडौं । बलिउड पटकथा लेखक तथा सलमान खानका बुवा सलीम खानको स्वास्थ्य अवस्था गम्भिर रहेको छ।
मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
रिपोर्टअनुसार सलीम खानलाई चिन्ता र उच्च रक्तचापको समस्यापछि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो रिपोर्टअनुसार सलीम खानको रक्तचाप बढेको र आन्तरिक रक्तस्राव भएको देखाएको छ।
चिकित्सकले उनको मस्तिष्कको दाहिने भागमा रक्तनली फुटेको जनाएका छन्। उनी अहिले भेन्टिलेटर सपोर्टमा छन् र आज उनको शल्यक्रिया हुने बताइएको छ।
यद्यपि, उनको अस्पताल भर्ना हुनुको कारण भने सार्वजनिक गरिएको छैन। परिवारको अनुमतिपछि आज मेडिकल बुलेटिन जारी गरिने भएको छ।
मंगलबार सलीम खानको स्वास्थ्य बिग्रिएपछि सलमान खान सुटिङ छोडेर अस्पताल गएका थिए। संजय दत्त र जावेद अख्तर पनि अस्पताल पुगेका थिए।
अस्पताल प्रशासनले मंगलबार बिहान ८:३० बजे सलीम खानलाई आकस्मिक कक्षमा ल्याइएको बताएको छ। उनको उपचारका लागि चिकित्सकको टोली गठन गरिएको छ।
९० वर्षीय सलीम हिन्दी सिनेमाका प्रसिद्ध पटकथा लेखकमध्ये एक हुन्। सलीम खानले सन् १९६० को दशकमा फिल्म ‘बारात’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। तर, उनले फिल्महरूमा सीमित र सानो भूमिका पाए।
लगभग दुई दर्जन फिल्ममा काम गरेपछि उनी लेखनतिर आए। सलीम खानको पटकथा रहेका शोले, जन्जिर, शक्ति, डन, नाम, दीवार जस्ता फिल्म हिट छन्।













